3८. कसुर गरेको मानिनेः कसैले देहायको काम कारबाही गरे वा गराएमा यस ऐन अन्तर्गतको कसुर गरेको मानिनेछः–
(क) दफा ६ बमोजिम लेबलिङ्ग नगरेमा वा लेबलमा झुठा कुरा उल्लेख गरेमा,
(ख) दफा ७, ८, ९, १०, ११ वा १२ बमोजिम क्रमशः उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, बिक्रेता वा सेवा प्रदायकले आफ्नो दायित्व पूरा नगरेमा वा दायित्वको उल्ङ्घन हुने काम गरेमा,
(ग) दफा १४ बमोजिम बिक्रेताले तोकेको अवधिभित्र सामान फिर्ता नलिएमा वा त्यस्तो मूल्य बराबरको सामान सट्टा नदिएमा,
(घ) दफा १५ बमोजिम बिल बिजक नराखेमा,
(ङ) दफा १६ को उपदफा (२) को खण्ड (क), (छ), (ञ) वा (ठ) बमोजिमको अनुचित व्यापारिक क्रियाकलाप गरे वा गराएमा,
(च) दफा १६ को उपदफा (२) को खण्ड (ख), (ग), (घ), (ङ), (च), (ज), (झ), (ट), (ड), (ढ), (त) वा (थ) बमोजिमको अनुचित व्यापारिक क्रियाकलाप गरे वा गराएमा,
(छ) दफा १७ को उपदफा (१) वा उपदफा (२) को खण्ड (क) बमोजिमको माग, आपूर्ति वा मूल्यमा प्रतिकूल प्रभाव पार्ने काम गरे वा गराएमा,
(ज) दफा १७ को उपदफा (२) को खण्ड (ख) वा (ग) बमोजिमको काम गरे वा गराएमा,
(झ) दफा १८ विपरीत हुने गरी काम गरे वा गराएमा,
(ञ) दफा १९ को उपदफा (३) विपरीत नेपाल सरकारले तोकेको मूल्यभन्दा बढी हुने गरी बिक्री गरे वा गराएमा,
(ट) दफा २० को उपदफा (१) वा (२) बमोजिमको काम नगरेमा,
(ठ) दफा २१ को उपदफा (१) बमोजिम निर्धारित मापदण्ड विपरीत वस्तु वा सेवाको बिक्री वितरण गरेमा,
(ड) दफा ५४ को उपदफा (2) बमोजिम यस ऐन बमोजिम जाँचबुझ, निरीक्षण वा अनुगमनको क्रममा सहयोग नगरेमा।
३९. तत्काल जरिबाना गर्न सक्नेः (१) दफा ३८ मा जुनसुकै कुरा लेखिएको भए तापनि बजार अनुगमन, निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले देहायको कुनै कसुर गरेको देखिएमा निजलाई निरीक्षण अधिकृतले तत्काल देहाय बमोजिम जरिबाना गर्न सक्नेछः–
(क) दफा ३८ को खण्ड (घ) बमोजिमको कसुर गरे वा गराएमा पाँच हजारदेखि बीस हजार रुपैयाँसम्म,
(ख) दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरे वा गराएमा दुई लाखदेखि तीन लाख रुपैयाँसम्म,
(ग) दफा ३८ को खण्ड (ज) बमोजिमको कसुर गरे वा गराएमा पचास हजारदेखि एक लाख रुपैयाँसम्म,
(घ) दफा ३८ को खण्ड (ट) बमोजिमको कसुर गरे वा गराएमा पचास हजारदेखि एक लाख रुपैयाँसम्म,
(ङ) दफा ३८ को खण्ड (ड) बमोजिमको कसुर गरेमा बीस हजार रुपैयाँसम्म।
(२) उपदफा (१) बमोजिमको कसुर पटकपटक गरेमा पटकै पिच्छे दोब्बर जरिबाना हुनेछ।
(३) निरीक्षण अधिकृतले यस दफा बमोजिम तत्काल जरिबाना गर्नु पर्ने कारण र जरिबाना गरेको रकम लगायतका सम्पूर्ण विवरण खुलाई तीन दिनभित्र विभागलाई जानकारी गराउनु पर्नेछ।
(४) उपदफा (१) बमोजिम तत्काल जरिबाना गर्ने गरी निर्णय भएको मितिले सात दिनभित्र सो जरिबाना नतिर्ने, नबुझाउने त्यस्तो वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता वा बिक्रेता विरुद्ध निरीक्षण अधिकृतले देहायको कार्य गर्न सक्नेछः-
(क) जरिबाना भएको रकम नतिरे, नबुझाएसम्म त्यस्तो वस्तु सिलबन्दी गरी राख्ने,
(ख) जरिबाना भएको रकम नतिरे, नबुझाएसम्म त्यस्तो वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता वा बिक्रेताले उत्पादन, ढुवानी, सञ्चय, पैठारी वा बिक्री गर्ने अन्य वस्तु समेत रोक्का राख्ने।
(५) यस दफा बमोजिम निरीक्षण अधिकृतले गरेको कार्य उपर चित्त नबुझेमा विभागको महानिर्देशक समक्ष पुनरावलोकनको लागि सात दिनभित्र निवेदन गर्न सक्नेछ।
(६) उपदफा (५) बमोजिम निरीक्षण अधिकृतले गरेको निर्णयको विरुद्ध पुनरावलोकनको लागि परेको निवेदन उपर विभागको महानिर्देशकले जे जो बुझ्नु पर्ने बुझी एक्काईस दिनभित्र सो सम्बन्धमा निर्णय गरिसक्नु पर्नेछ।
(७) पुनरावलोकनको लागि निवेदन गर्दा निरीक्षण अधिकृतले गरेको जरिबानाको पचास प्रतिशत नगदै धरौटी दाखिला गर्नु पर्नेछ।
(८) पुनरावलोकनको लागि परेको निवेदन उपर विभागको महानिर्देशकले गरेको निर्णय अन्तिम हुनेछ।
(९) निरीक्षण अधिकृतले तत्काल जरिबाना गर्ने सम्बन्धमा अपनाउनु पर्ने अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ।
४०. सजायः (१) कसैले यस ऐन अन्तर्गत कसुर मानिने देहायको कुनै काम गरे वा गराएमा कसुरको मात्रा हेरी विभागको महानिर्देशकले देहाय बमोजिम सजाय गर्न सक्नेछः–
(क) दफा ३८ को खण्ड (क) र (ग) बमोजिमको कसुर गरे वा गराएमा तीन महिनादेखि छ महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय,
(ख) दफा ३८ को खण्ड (झ) बमोजिमको कसुर गरेमा तीन महिनादेखि एक वर्षसम्म कैद वा एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना वा दुबै सजाय,
(ग) दफा ३८ को खण्ड (ञ) र (ठ) बमोजिमको कसूर गरेमा तीन महिनादेखि छ महिनासम्म कैद वा पचास हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय ।
(२) उपदफा (१) बमोजिम विभागको महानिर्देशकले गरेको निर्णय उपर चित्त नबुझ्ने पक्षले पैँतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ।
(३) देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजाय हुनेछः–
(क) दफा ३८ को खण्ड (ख) बमोजिमको कसुर गर्ने वा गराउनेलाई दुई बर्षदेखि तीन वर्षसम्म कैद वा तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय,
(ख) दफा ३८ को खण्ड (च) बमोजिमको कसुर गर्ने वा गराउनेलाई दुई बर्षदेखि पाँच वर्षसम्म कैद वा चार लाखदेखि छ लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय,
(ग) दफा ३८ को खण्ड (छ) बमोजिमको कसुर गर्ने वा गराउनेलाई दुई बर्षदेखि तीन वर्षसम्म कैद वा तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय ।
(4) उपदफा (१) बमोजिमका काम बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत अन्य कुनै काम कारबाही गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
